
२१ साउन रौतहट । केहि दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई एडिनो भाइरस कन्जन्टिभाइटिस पनि भनिन्छ । आँखा पाक्ने रोग भनेको आँखाको सेतो भागलाई छोपेको पातलो झिल्ली वा परेलाको भित्री भाग, जसलाई कंजक्टिभा भनिन्छ त्यसमा हुने संक्रमण हो । रौतहटको गौर नगरपालिका वडा नं. ८ पुरेनवामा अवस्थित गौर आँखा अस्पताल पुरेनवामा दिनहुँ आँखा जचाउन आउने मध्ये आँखा पाक्ने रोगबाट संकक्रित हुनेको संख्या ६ सय भन्दा बढी रहेको गौर आँखा अस्पताल पुरेनवाका व्यवसथापक प्रमुख कामेश्वर चौधरीले जानकारी गराएका छन । पछिल्लो १०÷१२ दिन देखि आँखा पाक्ने रोगका बिरामी फेला परेको र पहिला दिनको ३ सय देखि ४ सय सम्म बिरामी आँखा पाक्ने रोगको लागि जचाउन आगने गरेको तर ३ दिन देखि दिनहूँ ६ सय भन्दा बढी यो रोगका बिरामीहरु फेला पर्दै आएको व्यवस्थापक प्रमुख चौधरी जानकारी दिनुभयो । संक्रमित बिरामीहरुमा ६० प्रतिशत जति भारतीय नागरिक र बाकी नेपाली नागरिक रहेको समेत जानकारी गराउनु भयो । आँखा पाक्ने समस्या भएका बिरामी अत्याधिक रुपमा अस्पताल आइरहेको छन । समुदायस्तरमा आँखा पाक्ने समस्या प्रकोपका रुपमा देखिएको छ, जसमा बढीजसो बालबालिका र युवामा यो समस्या देखिएको गौर आँखा अस्पताल पुरेनवाका नेत्र अधिकृत बिनिता केशरीले जानकारी गराउनुभयो । नेत्र अधिकुत विनिता केशरीको अनुसार यो रोगको मुख्य लक्षण आँखामा चिप्रा लाग्ने, आँखा सुनिन्ने, चिलाउने, पोल्ने र रातो हुने आदि हुन । यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने सकिने अधिकुत केशरीले जानकारी गराएकी छिन । आँखा पाक्ने रोगले दिर्घकालिन असर नगरे पनि कसैमा संक्रमण फैलिएर आँखाको नानीमा जानसकिने उनको भनाइ रहेको छ । आँखाको नानीमा संक्रमण भएमा घाउ हुने सम्भावना हुन्छ । नेत्र अधिकृत केशरीको अनुसार समयमा नै उपचार गरे यो रोग सजिलै निको हुने गर्दछ । आँखा पाक्ने रोग देखिए पछि एक देखि दुई हप्तामा आफै कम हुदै जान्छ । तर कसैकसैमा लामो समयसम्म रहन सकिने ने.अ. बिनिता केशरीले जानकारी गराउनुभयो । चिकित्सकका अनुसार संक्रमण भएको व्यक्तिले आँखा छोएर टेबल, मेच, लुगा, वा अन्य व्यक्तिलाई छुदा संक्रमण फैलिन सक्छ । आँखा पाकेको आँखालाई बारम्बार हातले छुन नहुने छोइहालेमा हातलाई साबुनपानीले धुने र स्यानिटाइजर प्रयोग गर्ने अधिकृत केशरीको भनाइ रहेको छ । गौर आँखा अस्पतालका नेत्र अधिकृत बिनिता केशरीले आँखा पाक्ने रोग लागेमा नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जाँच गराउन सुझाव दिनुभयो। त्यसपछि चिकित्सक वा विशेषज्ञले दिएको औषधि मात्र आँखामा हाल्नुपर्ने उनी बताउँछन् । त्यस्तै, रातो भएको आँखालाई बरफ वा आइसले सेकाउन पनि सकिन्छ ।
घरमा खानेपानीलाई बरफ बनाएर त्यसले आँखा सेकाउन पनि मिल्छ । एउटा आँखामा प्रयोग गरेको बरफ अर्कोमा प्रयोग गर्न भने हुँदैन ।
आँखा पाकेका मानिसले आँसु पुछ्दा ‘डिस्पोजेबल टिस्यु’ हरूको प्रयोग गर्नुपर्छ । चिकित्सकका अनुसार आँखा पाक्ने रोग लागेमा आँखा नमाड्न, पानी नछ्याप्न, जथाभावी औषधिको प्रयोग नगर्न, घरबाहिर जाँदा कालो चस्मा प्रयोग गर्न चिकित्सकहरुले सुझाव दिएका छन । ।