१४ बैशाख २०८१, शुक्रबार

रौतहटको मौलापुरको ४० प्रतिशतभन्दा बढी बजेट शिक्षामा लगानी

३० असार, रौतहट । रौतहटको एउटा नगरपालिकाले शिक्षामा ४० प्रतिशतभन्दा बढी बजेट लगानी गरिरहेको देखिएको छ । रौतहटको मौलापुर नगरपालिकाले आफ्नो कुल बजेटको ४० प्रतिशतभन्दा बढी रकम शिक्षा क्षेत्रमा लगानी गर्दै आएको छ । जिल्लाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी ४० प्रतिशत बजेट शिक्षामा लगानी गर्ने मौलापुर नगरपालिका नै रहेको छ ।

चालू आर्थिक वर्षमा नगरपालिकाको कुल बजेट ३६ करोड रहेकोमा नगरपालिकाले शिक्षा क्षेत्रमा १४ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ । नपाको कुल बजेटको ४०।५८ प्रतिशत बजेट शिक्षा क्षेत्रमा गएको नगरपालिकाका लेखापाल जयप्रकाश महतोले जानकारी गराए ।

विभिन्न विद्यालयका लागि जग्गा खरीद, भवन निर्माण, भौतिक तथा शैक्षिक सामग्री खरीद, पर्खाल निर्माण, मर्मत तथा रङ्गरोगन, विद्यालयको सौन्दर्यीकरणमा नगरपालिकाले ठूलो लगानी गरेको छ ।

मौलापुर नगरपालिकाले दर्जनर्ँैं शिक्षक नियुक्त गरेको छ । नगरपालिकाले दरबन्दी सिर्जना गरी आफ्नै स्रोतबाट शिक्षक नियुक्तिका लागि अहिले ३५ शिक्षकको लागि विज्ञापन माग गरेको छ ।

आफ्नै स्रोतमा दरबन्दी सिर्जना गरी नगरपालिकाले भर्नाको प्रक्रिया अगाडि बढाएका ३५ मध्ये माध्यमिक तहका लागि २२ शिक्षकको माग गरेको छ ।

नगरपालिकामा विद्यालय नै अपुग रहेको र विद्यालय अपायक ठाउँमा रहेको अवस्था हेरी दुईवटा विद्यालयलाई मर्ज पनि गरिसकेको छ भने केही विद्यालय स्थापना पनि गरेको छ । नगरपालिका गठन हुँदा दुईवटा माध्यमिक विद्यालय रहेको मौलापुरमा अहिले पाँचवटा माध्यमिक विद्यालय पु¥याएको शिक्षा संयोजक चन्देश्वर साहले जानकारी गराए ।

भवन निर्माण, प्रयोगशाला, खेलकूद तथा शैक्षिक सामग्री, पाठ्यपुस्तक, बेन्च, डेस्क, सरस्वती पूजा, परीक्षा सञ्चालन, जमीन खरीद, प्राविधिक शिक्षा सञ्चालन, संस्थागत अनुदान, साक्षरता अभियान, प्रौढ शिक्षा र नगरपालिकाले दरबन्दी सिर्जना गरी शिक्षक नियुक्ति गर्दा तलबभत्ता र छात्रवृत्तिमा गरी नगरपालिकाले आफ्नो बजेटको ठूलो हिस्सा शिक्षा क्षेत्रमा खर्च गर्दै आएको नगरप्रमुख रीनाकुमारी साहको भनाइ छ ।

समाजको विकासको लागि सबैभन्दा बढी शिक्षाको विकास जरुरी रहेकोले मौलापुर नगरपालिको शिक्षा र यससँग सम्बन्धित सबै पक्षमा लगानी गरिरहेको नगरप्रमुख साहको भनाइ छ । शिक्षाको भौतिक संरचना र शिक्षक व्यवस्थापन नभई गुणस्तरीय शिक्षा सम्भव नभएकोले मौलापुर नगरपालिकाले शिक्षामा ठूलो लगानी गरिरहेको नगरप्रमुख साहको दाबी छ ।

आफ्नै लगानीमा मौलापुर प्राविधिक शिक्षालय सञ्चालन गरिरहेको मौलापुर नगरपालिकाले शिक्षालाई एकातिर निश्शुल्क र अर्कोतिर गुणस्तरीय बनाउन खोज्दा नगरपालिकाको धेरै रकम शिक्षामा निरन्तर लगानी भइरहेको नगरप्रमुख साहको दाबी छ । शिक्षामा निरन्तर भइरहेको ठूलो रकम लगानीको प्रतिफल पनि देखिने विश्वासमा आफू रहेको नगरप्रमुख साह बताउँछिन् ।

छात्रालाई साइकल वितरणदेखि ल्यापटप वितरणसम्मको कार्यक्रम सुरुआत गरेको मौलापुर नगरपालिकाले नगरस्तरका विभिन्न शैक्षिक तथा बौद्धिक प्रतियोगिताहरू पनि सञ्चालन गर्दै आएको छ ।

सरकार भएर पनि शिक्षामा सुधार गर्न खासै बजेट नछुट्याउनेहरूको लागि मौलापुरले गर्दै आएको काम धेरैको लागि उदाहरण बन्न सक्ने देखिन्छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *