१४ बैशाख २०८१, शुक्रबार

कांग्रेसबाट धोका पायौँ भनेर उफ्रिने हो भने गठबन्धन अगाडि जान सक्दैनः धनराज गुरुङ

नेपाली कांग्रेसमा पाँचदलीय गठबन्धनको चर्को आलोचकमा पर्छन्, उपसभापति धनराज गुरुङ । स्थानीय तह निर्वाचनअघि उनले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई लक्षित गर्दै ‘चुनाव जित्न हात्तीको कानमा ओत लागेका चमेरा’सम्म भनेका थिए । तर, कांग्रेसले चुनावी गठबन्धन गरेपछि उनी चुपचाप पार्टी निर्णय स्वीकारेर गठबन्धन जिताउन हिँडे । आउँदो कात्तिक/मंसिरमा हुने प्रदेश र संघीय संसदको निर्वाचन नजिकिँदै जाँदा पुनः गठबन्धनको बहस सुरु भएको छ । गठबन्धनका मुख्य घटकहरू माओवादी केन्द्र र एकीकृत समाजवादी एकातर्फ स्थानीय चुनावमा कांग्रेसले इमानदारी नदेखाएको, धोका दिएको गुनासो गरिरहेका छन् भने अर्कोतर्फ आउँदो चुनावसम्मै गठबन्धन कायम रहने बताइरहेका छन् । पाँचदलीय गठबन्धनको भविष्य के होला ? गठबन्धन जोगाउन नेपाली कांग्रेसले के गर्दैछ ? यसै सन्दर्भमा शिलापत्रकर्मी जनक नेपालले कांग्रेस उपसभापति धनराज गुरुङसँग संवाद गरेका छन् ।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्यो । पार्टीसभापति भन्नुहुन्छ– गठबन्धन गरेकाले ठूलो पार्टी भयौँ । तपाईंसहितको वैचारिक समूहका नेता शेखर कोइराला भन्नुहुन्छ– एक्लै लडेको भए योभन्दा धेरै पालिका जित्थ्यौँ । कुन कुरा सत्य हो ?

कसले के भन्यो भन्दा पनि हामीले परिणामको विश्लेषण गर्नुपर्छ । पहिलो कुरा, टिकट वितरण नै न्यायोचित गर्न सकेनौँ । जबकि टिकट वितरणमै न्याय नभएपछि ती असन्तुष्टि अन्तर्घातमा पोखिए । अर्को, प्राविधिक एरर पनि धेरै भएको छ । किनभने, हामीले गठबन्धन गरेका थियौँ । हामीले मतदातालाई सम्झाउन त सम्झायौँ । टुप्पोमा रुखमा, तल रुख वा हँसिया हथौडा खोज्नू भन्यौँ । त्यो झन्झटिलो बनाइयो । हारजितभन्दा धेरै मत बदर भयो । यो सबै उपलब्धि गठबन्धनकै कारण वा नगरेको भए ठूलो उपलब्धि भनेर सतही रूपमा अभिव्यक्ति राख्नुअघि मैले भनेका यी कारण हेर्नुपर्छ ।

कांग्रेसले जितेका ३ सय २९ पालिकामध्ये १ सय ८२ त गठबन्धनको बलमा जित्यो । तैपनि, कांग्रेसभित्रको एउटा तप्काले किन गठबन्धन नरुचाएको हो ?

यसमा रुचाउने नरुचाउने, पचाउने नपचाउने कुरामा पूर्णविराम लागिसक्यो । खास कुरा के हो त भन्दा गठबन्धन गर्दा भएका एरर कसरी हटाउने ? वा एररले गर्दा अपेक्षित भएन भन्ने कोणबाट पनि एउटा विश्लेषण गर्नुपर्ने छँदैछ । यसैमा द्वन्द्वात्मक भन्दा समन्वयात्मक भएर अगाडि बढौँ । गठबन्धनबाट केही हुँदै भएन भन्ने पनि हैन । केही प्राविधिक गडबडी आएका छन्, तिनलाई नजरअन्दाज गर्न हुन्न । वैचारिक रूपमा सैद्धान्तिक रूपमा गठबन्धन गर्नुहुन्न भन्ने म आफैँले बोलेको थिएँ । तर, केन्द्रीय कमिटीले निर्णय गरेपछि त्यो सिंगो पार्टीको निर्णय हो । त्यो निर्णयको पक्षमा हामी सबै उभिएर निर्वाचन सम्पन्न गरिसक्यौँ । परिणामसमेत आइसक्यो ।

गठबन्धन गर्दासमेत झिनो मतले जितेका पालिका छन् । केही त्यसरी हारेका पनि होलान् । एक्लै लड्न खोज्दा गोर्खालगायत जिल्लामा नमीठो हार पनि ब्यहोरेको छ । सारमा, कांग्रेसले गठबन्धनबाट सबैभन्दा धेरै लाभ लिएको त सत्य हो नि ?

कांग्रेसले गठबन्धनबाट लाभ लियो वा लिएन भन्ने कुरालाई गम्भीर रूपमा गहिरिएर हेर्नुपर्छ । लाभ छँदै छैन भन्ने पनि हैन । गठबन्धनकै कारण कति ठाउँमा हामीले हारेका पनि छौँ । यसलाई पनि स्वीकार्नुपर्छ । गठबन्धन केही पनि होइन, मैले भनिरहेको छैन । गठबन्धनबाट धेरै प्राविधिक त्रुटि पनि छन् । त्रुटि नभएको भए हामीले ३ सय ७७ प्लस अपेक्षा गरेका थियौँ । त्यो परिणाम आएन । किनभने एलायन्स गरेका ठाउँमा आफ्नै कार्यकर्ता र मतदातालाई प्रशिक्षित गर्न सकेनौँ । जसले गर्दा प्राविधिक त्रुटि बढी भएको छ । धेरै त्रुटि भएको छ, हामीले आँकडा नै लिएका छौँ ।

माओवादीले गठबन्धनप्रति कांग्रेस इमानदार भएन भन्दैछ । एकीकृत समाजवादीले त आफूलाई धोका भएको भनिसकेको छ । कांग्रेसलाई कम्युनिस्ट उम्मेदवारलाई भोट हाल्न किन गाह्रो ?

गठबन्धन गरेपछि गाह्रोसारो, जस्तो; विषपान गरेर भए पनि एलायन्सको पक्षमा उभिन भनियो । निर्णय गर्नुअघिसम्म त म आफैँ गठबन्धनको विपक्षमा थिएँ । तर, गठबन्धनको निर्णय भइसकेपछि त्यसको पक्षमा उभिनुपर्छ हरेक कार्यकर्ता । त्यो त हाम्रो कर्तव्य हो । त्यस कारण अब हात गयो गएन, हात काँप्यो काँपेन भन्ने कुरै होइन यो । त्यसरी जानु हुन्न । त्यो धोकाधडीको कुरै होइन । उहाँहरूले पनि ठूलै शहर जित्नुभएको छ त ।

सैद्धान्तिक रूपमा कुरा गर्ने हो भने दल दर्ता गर्ने, दलकौँ सैद्धान्तिक कुरा पनि लेख्ने, उद्देश्य पनि लेख्ने अनि चुनावको बेलामा हामी मिलेर आयौँ भन्नु त्यो गलत हो । संसदीय परिपाटीको विरोधी कुरा हो । तथापि, यहाँ कथाले त्यस्तै माग्यो । सोही कथाको हामी पात्र बनिसक्यौँ ।

ललितपुर भन्नुस् कि विराटनगर, उम्मेदवार नभएको रुख चिह्नमा विजेताकै हाराहारीको मत आयो । गठबन्धनका उम्मेदवार हारे । त्यो त धोका भयो नि ।

तपाईंले दिएका यी उदाहरण हेर्दा मलाई अहिले पनि के लागेको छ भने जुन संविधानले दललाई प्रमुख/उपप्रमुखमा फरक लिंग उम्मेदवार दिन भनेको छ । प्रमुखमा पुरुष भए उपप्रमुखमा महिला र प्रमुखमा महिला भए उपप्रमुखमा पुरुष । हामीले फरक पार्टीबाट उम्मेदवार दिँदा अलिकति दिदिबहिनीको मन दुख्या छ । धेरै ठाउँमा ‘ए… महिला दिदीबहिनीलाई हेप्नी ?’ भनेका छन् । त्यो पनि त कारण हो नि । हामीले यसरी पो विश्लेषण गर्ने हो । खालि कसले धोका दियो भन्नुभन्दा हामीले कहाँनिर गल्ती गर्‍यौँ ? हाम्रो गल्ती त्यहाँ भएको छ । महिला पुरुषबराबर पनि भन्ने, फरक पार्टीको नाममा महिलालाई उम्मेदवार नबनाएको कारण पनि हो भनेर नेताले महसुस गर्नुपर्छ । कसले कसलाई धोका दियो भनेर गनेर बस्नुपर्छ भन्ने मलाई लाग्दैन ।

होइन एलायन्स नै गलत थियो भन्ने हो भने त अब आ–आफ्नो बाटो लाग्नुपर्‍यो । हैन, एलायन्स ठीक थियो भन्ने हो भने यसको विपक्षमा किन बोलिराख्नुपर्‍यो ?

गठबन्धन गरेर लाभ पनि लिने, गठबन्धनका वामपन्थी दलहरूलाई अपमानित पनि गर्ने काम गरे भन्ने गुनासो छ । तपाईंले समेत हात्तीको कानमा ओत लाग्न आएका चमेरा नै भनिदिनुभयो ? किन यति कडा वचन लगाउनुभएको थियाे ?

यो कुरा त अब डेट एक्सपायर औषधिजस्तो भयो । यो चुनावी एलायन्सभन्दा पहिलेको कुरा हो । त्यतिबेलासम्म चुनावी गठबन्धन भइसकेको थिएन ।

गठबन्धन त त्यतिबेला पनि थियो । सरकारमा सँगै हुनुहुन्थ्यो ।

हैन हैन । सरकारको गठबन्धन छुट्टै हो । सरकारमा त उहाँहरू अहिले पनि हुनुहुन्छ । चुनावी गठबन्धन अर्कै हो । चुनावी एलायन्सबारे हाम्रो केन्द्रीय समितिले निर्णय गरिनसकेको बेलामा बोलेको कुरा अहिले डेट एक्सपायर हो । कार्यसमितिको निर्णय शिरोधार्य गरेर अघि बढिसकियो त ।

त्यसो भए गठबन्धन भड्काउन, नभइदिए हुन्थ्यो भन्न अलिकति बल गरिरहनुभएको थियो ?

यो भड्काउने कुरा पनि होइन । प्रजातन्त्रको सुन्दर पक्ष भनेको तपाईंले मनको कुरा बोल्न पाउनुपर्छ । मेरो कन्साइन दबाएर राख्छु भने त्यो केको प्रजातन्त्र ? त्यो कुनै आक्रोश पनि हैन । वाक् स्वतन्त्रताको उपयोग हो । त्यसले कसैको मन दुख्यो भने पनि त्यो च्याप्टर क्लोज भइसकेको विषय हो । फेरि किन उत्खनन गरिरहने ?

कांग्रेसको शेखर समूहले गठबन्धन नचाहेको देखिन्छ । किन नचाहेको हो ?

हामीले वैचारिक र सैद्धान्तिक कुरा गरेका हौँ । सैद्धान्तिक कुरा के हो भने बहुलवादमा आधारित संसदीय पद्धतिमा हरेक दलले आफ्नो घोषणापत्रमा पार्टीका नीति तथा कार्यक्रम लिएर जनतामा जान्छन् । हामी जितेपछि यो गर्छौं है भनेर कार्यक्रम लिएर जान्छन् । हामीले त्यो सैद्धान्तिक र नीतिगत कुरामा टेकेर गठबन्धन गर्न हुन्न भनेका थियौँ । तर, केन्द्रीय समितिमा जब निर्णय भयो, मानेर गएका हौँ । प्रजातन्त्र भनेकै त्यै हो । त्यै भएर हामी कांग्रेस हो । हामी बहुमतलाई सम्मान गर्छौं र मान्छौँ ।

आधारभूत रूपमा वामपन्थीसँग मिल्न कांग्रेसलाई सिद्धान्तले दिँदैन ?

वामपन्थी सामपन्थी केही कुरा हैन । सैद्धान्तिक रूपमा कुरा गर्ने हो भने दल दर्ता गर्ने, दलकाे सैद्धान्तिक कुरा पनि लेख्ने, उद्देश्य पनि लेख्ने अनि चुनावको बेलामा हामी मिलेर आयौँ भन्नु त्यो गलत हो । संसदीय परिपाटीको विरोधी कुरा हो । तथापि, यहाँ कथाले त्यस्तै माग्यो । सोही कथाको हामी पात्र बनिसक्यौँ ।

पार्टीसभापति शेरबहादुर देउवा गठबन्धनप्रति बढी नै लचक देखिनुहुन्छ । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले अहंकार देखाए उसलाई पनि एमालेको हालतमा पुर्‍याउँछौँ भन्नुभयो । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले लगत्तै अहंकार देखाउँदैनौँ भनेर प्रस्टीकरण दिनुभयो ।

यो सबैलाई विश्लेषण गर्दा कहीँ न कहीँ चुनावी एलायन्सको माग देखिन्छ । तर, यो प्रवृत्ति देखाउन हुन्न कि तिम्ले मलाई काखमा राखेनौ भने म अर्को काख खोज्छु । यो प्रवृत्ति गलत हो । मुलुक, जनता र देशका लागि एलायन्स गर्ने हो भने त्यहीअनुसार कुरा गर्नुपर्छ । यो बार्गेनिङको कुरा हैन । मुलुक र जनताको हितको कुरा हो । हाम्रो एलायन्सले परिणाम निकाल्न सक्नुपर्छ । जस्तै, ३२९ पालिकामा कांग्रेस, १२१ मा माओवादी, २० स्थानमा एकीकृत समाजवादी, ३० ठाउँमा जसपा र जनमोर्चाले पनि जितेको छ । यो परिणाम केका लागि ? मात्रै जित्नका लागि हो ? त्योभन्दा अगाडि सुशासन स्थापना गर्ने, जनतालाई समृद्धिसँग जोड्ने । त्यसमा लाग्नुपर्छ अब । हामीले यतियति सिट जित्यौँ । अब देख्लास् पख्लास् हैन कि अब हामी एलायन्सबाट आएको हो भने सबै पार्टीले आफ्ना जनप्रतिनिधिलाई निष्पक्ष भएर जनताको पक्षमा, सुशासनको पक्षमा काम गर्न प्रशिक्षित गर्ने बेला हो ।

तर, सभापति देउवा र कांग्रेसलाई फेरि वाम गठबन्धन बन्ला र पुरानै साइजमा फर्किनुपर्ला भन्ने त्रास त छ नि ?

उहाँको कुरा थाहा पाउन म ज्योतिष हैन । नेपाली राजनीतिको परिदृश्य, मूल नेतृत्व देखिराख्नुभएको छ, बुझिराख्नुभएको छ । नेपाली राजनीति एउटा खतरनाक मोडमा जान पनि सक्छ । हामीले काठमाडौंदेखि धरान र धनगढीसम्मको अवस्थालाई पनि एकपटक गम्भीर भएर नियाल्नुपर्छ । त्यस कारणले को कता भाग्छ, को कता फुत्किन्छ भन्ने चिन्ताभन्दा पनि हाम्रो चिन्ता यो पद्धति र व्यवहारमा एकरूपता आयो कि आएन, हामीले लोकतान्त्रिक गणतन्त्रलाई साँच्चिकै जनताले उपभोग गर्नेगरी पहुँच पुर्‍याउन सक्यौँ कि सकेनौँ भन्नेमा हुनुपर्छ ।

स्वतन्त्र उम्मेदवार उठ्ने र जित्ने कुरालाई स्वाभाविक रूपमा लिनुपर्ने हैन र ?

स्वाभाविक त हो, मैले के भन्दैछु भन्दा दलीय कुरा यहाँ आउँछ । बहुलवादमा आधारित संसदीय पद्धति । संसदीय पद्धतिमा दलगत उम्मेदवार हुन्छन् र दलबाट निर्वाचित हुन्छन् । यो हाम्रा लागि एउटा सच्चिनका लागि हामीले कतै भुल गरेका छौँ कि कांग्रेस एमालेजस्ता ऐतिहासिक दललाई उछिनेर एउटा दलविहीन नेताले विजयश्री प्राप्त गर्छ भने त्यसप्रति हामी गम्भीर नहुने ? यसले केही सन्देश दिइरहेको छ । समय घर्किएपछि आफैँलाई प्रश्न गर्नुको अर्थ रहन्न ।

प्रदेश र संघको निर्वाचनसम्म यो गठबन्धन कायम रहने सम्भावना कति छ ?

विचलित हुनुहुन्न । केही साथीहरू विचलित भएकोजस्तो मैले अनुभव गरेको छु । हामीले धोका पायौँ भनेर उफ्रिने हो भने यो एलायन्स अगाडि जान सक्दैन । अविचलित रूपबाट अघि बढ्ने हो । म दोस्रो वा तेस्रो भएँ भने निधार खुम्च्याएर बस्ने हैन । सकारात्मक सोच राख्नुपर्छ साथीहरूले । अहिले म सुन्दैछु कांग्रेसले धोका दियो । वाम गठबन्धन पो ठीक थियो तर वाम नेता मान्दै मानेनन् । नेता एकदमै छिटो आत्तिने, मात्तिने विचलित हुने देखेर अचम्म लाग्छ । जस्तोसुकै परिणामलाई पनि स्वीकार्नुपर्छ । उदाहरणका लागि २०३६ सालको जनमत हाम्रो विपक्षमा आयो । तर, बीपी कोइरालाले स्वीकार्नुभो । त्यसको १० वर्षमा माहौल बन्यो, २०४६ सालमा प्रजातन्त्र आयो नि !

गठबन्धनको निर्णय गर्नुअघिसम्म त म आफैँ गठबन्धनको विपक्षमा थिएँ । तर, गठबन्धनको निर्णय भइसकेपछि त्यसको पक्षमा उभिनुपर्छ हरेक कार्यकर्ता । त्यो त हाम्रो कर्तव्य हो । त्यस कारण अब हात गयो गएन, हात काँप्यो काँपेन भन्ने कुरै होइन यो ।

तपाईंको संकेत प्रचण्डतर्फ हो ?

नेपाली राजनीतिक नेतामा धेरै विचलित हुने, आत्तिने म देखिरहेको छु । किन आत्तिने ? देश र जनताका लागि हैन राजनीति गर्ने ? हारे पनि जिते पनि यही माटोमा हैन राजनीति गर्ने ? हार्दाखेरि के यहाँबाट भाग्नुपर्छ ? जित्नेहरूले के श्रीपेज पहिरिने हो ? जित्नेहरूले जनतालाई सेवा गर्ने हो । हार्नेले पनि फेरि जनताकै सेवा गर्ने हो ।

स्थानीय चुनावमा राम्रो नतिजा ल्याएर हौसिएको माओवादीको बार्गेनिङ पावर बढेको छ । एकीकृत समाजवादीले पनि हिजो देउवालाई प्रधानमन्त्री बनाउन गुन लगाएको छ । भागवण्डाचाहिँ कसरी गर्नुहुन्छ ?

यदि गठबन्धन गर्ने हो भो दुई/तीनवटा कुरा हेर्नुपर्छ । मुख्य गरेर भर्खरै सम्पन्न निर्वाचनलाई आधार मान्नुपर्छ । २०७४ लाई हेरेर हैन, त्यसलाई मानसपटलमा राखेर, विश्लेषण गरेर पाँच वर्षपछिको चुनावलाई मूल आधार मानेर जानुपर्छ । त्यसैले मेरै कारणले मात्र मैले जितेँ वा अर्कोको कारणले मात्र मैले जितेको हो भनेर विश्लेषण गर्न थाल्यौँ भने यो गठबन्धनबाट हामी दिग्भ्रमित हुन्छौँ । एलायन्स गर्दा यथार्थको धरातललाई टेकेर आखिरमा सिट बाँडफाँटकै भागवण्डाकै कुरा हुन्छ । त्यसमा यथार्थको धरातलमा अहिलेको मतपरिणामलाई केलाएर जानुपर्छ ।

थोरै फरक प्रसंग । चुनावको मिति तोक्नुअघि मन्त्रिपरिषद् पुनर्गठन हुन लागेको हो ?

कांग्रेसमा यो विषयमा अहिलेसम्म छलफल भएको छैन । बिस्तारै होला । चुनावी सरकार जेजे भने पनि यही सरकारको निरन्तरता हो । अर्को सरकार आउने हैन । मन्त्रीमा हेरफेर त भइरहन्छ ।

एकीकृत समाजवादीले मन्त्रीहरू हेरफेर गर्न खोज्यो । प्रधानमन्त्रीले रोक्नुभयो । कांग्रेसमा पनि मन्त्री हेरफेरको दबाब पर्छ भनेर हो ?

यो नौलो कुरा होइन । तर, अहिले बजेट पेस भएर छलफल भइराखेको छ । मन्त्रालयगत छलफलकै बेला मन्त्री हेरफेर गर्नु त्यति राम्रो देखिएन । त्यस कारण पनि होल्ड भएको मलाई लाग्छ । कांग्रेसमा दबाब छैन । एकीकृत समाजवादीको जस्तो ६/६ महिनामा मन्त्री फेरिने आलोपालोको म विरोधी हुँ । किनभने, यो आलोपालो गरेर जागिर खाने चीज हैन । मन्त्री भनेको कार्यकारी पद हो । जनताको काम गर्न जाने हो । काम गर्न नसक्नेहरू हटाउनुपर्छ । राम्रो काम गर्नेलाई निरन्तरता दिनुपर्छ । त्यसैले एउटै बास्केटमा हालेर तिम्रो पालो पूरा भयो जाऊ । अर्कोको पालो पुर्‍याउन जाऊ झण्डा हल्लाउन भन्ने कुरा हो र यो ? मन्त्रीको पर्फर्मेन्स हेरेर पार्टीले निर्णय गर्नुपर्छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *