
३ जेठ / काठमाण्डौँ । भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाणले बिचौलियाबाट लिएको रकममध्ये एक करोड रूपैयाँ फिर्ता गरिदिएको तथ्य प्रहरीले फेला पारेको छ।
उक्त रकम गृहमन्त्री खाणले आफ्ना निजी सहायक नरेन्द्र केसीमार्फत् फर्काएको गृहको उच्च स्रोतले सेतोपाटीलाई बताएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरोहका प्रमुख सदस्य केशव दुलाल, सानु भण्डारी र टंक गुरूङ चैत १२ गते पक्राउ परेपछि उनीहरूले भटाभट यसमा जोडिएका राजनीतिक र प्रशासनिक मानिसहरूको नाम लिन थालेका थिए।
भण्डारी, दुलाल र गुरूङ पक्राउ परेपछि उनीहरूको बयान भएको थियो। बयानका क्रममा सानु भण्डारीले गृहमन्त्री खाण लगायत उच्च राजनीतिक एवं कर्मचारीहरूको नाम लिएका थिए। उनीहरूले नाम लिएका ८ जनालाई प्रहरीले समात्यो। खाणको नाम भने गिरोहका सदस्यको बयानबाट हटाइयो।
त्यसलगत्तै खाणले गिरोहका सदस्यबाट आफूले लिएको रकम फिर्ता गर्ने र भविष्यमा उनीहरूले आफ्नो नाम नलिने चाँजोपाँजो मिलाउन थाले। त्यसको केही दिनमा उनले पिए केसी मार्फत एक करोड रूपैयाँ फिर्ता गरेका थिए।
गृहको उच्च स्रोतका अनुसार केसीले एक करोड लगेर दिएका व्यक्तिले नै प्रहरी समक्ष आफूले उनीबाट पैसा फिर्ता लिएको बयान दिएका छन्।
खाणले भने अहिलेसम्म बयानका क्रममा यो विषय स्वीकार गरेको वा नगरेको यकिन छैन। मंगलबार मात्रै प्रहरीले खाणसँग दिनभरि नै बयान लिएको छ। यो समाचार लेख्दा साँझसम्म पनि बयान जारी छ।
पूर्वगृहमन्त्री खाणलाई प्रहरीले गत बुधबार पक्राउ गरेको थियो। उनलाई मैजुबहालस्थित निवासबाट जरूरी पक्राउ पुर्जी जारी गरेर पक्राउ गरिएको थियो। त्यसपछि पक्राउ परेका गृहसचिव टेकनारायण पाण्डेले पनि उनीमार्फत काम गरेको स्वीकार गरेपछि र पाण्डेकै फोनबाट भेटिएका प्रमाण पाएपछि प्रहरी खाणसमक्ष पुगेको थियो।