१५ चैत्र २०८०, बिहीबार

सशुल्क शिक्षा दिने प्रचलन बढ्दै तर २३ वर्ष देखि निरन्तर रूपमा निःशुल्क शिक्षा प्रदान गर्दै निरज सर

फाल्गुन १६ गते । रौतहट । शिक्षा ज्ञानको ज्योति हो, शिक्षाले अन्धकाररूपी अज्ञानतालाई चिर्दै उज्ज्वल भविष्यको बाटोमा अग्रसर गराउने काम गर्दछ । भनिन्छ नि एक शिक्षकले हजारौँ विद्यार्थीहरूलाई शिक्षित बनाउँछ, ती हजारौँ शिक्षित विद्यार्थीले लाखौँलाई शिक्षित बनाउँछन्, ती लाखौँ विद्यार्थीले करोडौँलाई शिक्षित बनाउँछन् जब करोडौँ विद्यार्थी शिक्षित हुन्छन् तब समाज र राष्ट्र नै शिक्षित हुन्छ । जसका कारण राष्ट्र अगाडि बढ्न सक्छ । शिक्षा लिन चाहने ९धनी,गरिब० जो कोहीलाई पनि समान रूपमा प्रदान गरिनुपर्छ तर आजभोलि अलिकति शिक्षित भनिएका र पढेलेखेकाहरूले नै शिक्षालाई सेवाको रूपमा भन्दा पनि पैसा कमाउने पेसाको रूपमा बढी लिन थालेको पाइन्छ । शैक्षिक संस्थामा पढाएर, ट्युसन र अतिरिक्त कक्षा सञ्चालन गरेर होस् वा अन्य माध्यमबाट शिक्षा प्रदान गरेर जसरी हुन्छ शिक्षा दिए बापत पैसा लिएरै छाड्ने चलन अहिले व्यापक मौलाएको छ । निःशुल्क शिक्षा भन्दा पनि सशुल्क शिक्षा दिने प्रचलन बढ्दो छ तर अहिलेको यस्तो पैसा मुखी समाजमा पनि निःशुल्क शिक्षा प्रदान गर्नेहरू पनि छन् है भन्दा तपाईँहरू कतिपयलाई पत्याउन गाह्रो पर्छ होला तर यो कुरा साँचो हो । आफू विपन्न परिवारमा जन्मिएर दुःख गरी पढेर पनि विगत २३ वर्ष देखि अनवरत रूपमा निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेका एक शिक्षक हुन् नीरज शाह । रौतहटको सदरमुकाम गौर नगरपालिका ५ मा श्री आधारभूत विद्यालय बाल मन्दिरमा विगत २३ वर्ष देखि निरन्तर रूपमा निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेका गौर नगरपालिका वडा नम्बर १ का एक उदाहरणीय शिक्षक नीरज शाहले विद्यालय जान बाट वञ्चित भएका, बिचैमा विद्यालय छाडेका,आर्थिक हैसियत निकै कमजोर भएका, दलित, अति विपन्न, आफ्ना बाबुआमा दुवै नभएका,असहाय, दुखी, गरिब बालबालिकालाई विगत लामो समय देखि पढाउँदै आइरहेका छन् ।

पढाउने काम सुरुमा शाहको लागि त्यति सहज थिएन । तर भनिन्छ नि मनले चिताएको कुनै काम गर्छु भनेर प्रण गर्‍यो भने त्यो अवश्य पूरा गर्न सकिन्छ , हो त्यस्तै प्रण गरेर आफ्नो परिवारको आर्थिक हैसियत अन्त्यतै कमजोरका भएता पनि निःशुल्क शिक्षा प्रदान गरिरहेका शाहले अहिलेसम्म पनि आफ्नो त्यो सत्कर्मलाई छाडेका छैनन् ।तीन दाजुभाइ मध्ये सबैभन्दा जेठो सन्तानको रूपमा जन्मिएका उनलाई परिवारको आर्थिक अभिभारा उनकै काँधमा थियो । आफू र आफ्ना भाइहरूको पढाइको खर्चका साथै घर खर्च चलाउन सम्म आफैँ कमाउनु पर्ने बाध्यता थियो । त्यसैले आर्थिक संकट टार्न कै लागि उनले सुरुमा बस धुने काम गरे । त्यति बेला उनले एउटा बस धोए बापत जम्मा ४० रुपैयाँ पाउने गर्थे । उनले दिनमा ४ देखि ५ वटा सम्म बस धुने गर्थे । एउटा बस धोएको पैसाले भाइहरूको पढाइलाई र घर खर्च चलाउँथे भने अर्को बस धोएको पैसा विद्यार्थीहरूको शैक्षिक सामाग्री किन्नको लागि समर्पित गर्थे र बाँकी पैसा आफ्नो पढाई खर्चमा लगाउने गर्थे। यता उनका आमाबुबा भने चिया बेच्ने काम गर्नुहुन्थ्यो ।

एस।एल।सी पास गरे लगत्तै विद्यालय पढाउने काम गरेका उनले निःशुल्क शिक्षा अभियान थालेको पनि २३ वर्ष भन्दा बढी भैसकेको छ ।

आर्थिक,सामाजिक ,शैक्षिक आदि सबै रूपमा पछाडि परेको त्यतिबेलाको उनको समाजमा पढ्नुपर्छ भन्ने चेतना निकै कममा थियो । आफूले बालबालिकालाई पढाउनुपर्छ भनेर घर घरमा गएर सम्झाएर, बुझाएर,कतिपय अभिभावकको गोडा नै ढोगेर, शैक्षिक सामाग्रीको प्रलोभन देखाएर, शिक्षा ग्रहण गर्नाले नै बालबालिकाले पछि गएर राम्रो जागिर खान्छन् र आर्थिक रूपमा सबल हुन्छन् भनी सम्झाई बुझाई गरेर निकै कठिन सङ्घर्षका साथ बालबालिकाहरूलाई शिक्षा प्रदान गर्न आफू सफल भएको उनी अहिले पनि झलझली सम्झिन्छन् ।

सुरुसुरुमा अझ विशेष गरी अरू भन्दा दलित समुदायका अभिभावकहरूलाई भेला नै गराएर आफ्ना सन्तानलाई पढ्न पठाउनुस् शिक्षा भन्दा ठुलो सम्पत्ति केही होइन, शिक्षाले नै गरिबीलाई दूर गराउँछ, शिक्षा बाट आफ्नो सन्तानलाई वञ्चित नगराउनुहोस् भनेर आफूले पटक पटक हात जोडेर नमस्कार गरेर, सम्झाइबुझाई गरी प्रोत्साहन गरेको शाह बताउँछन् ।एक त आफ्नै घरको आर्थिक अवस्था कमजोर, बिहान बेलुका के खाएर छाक टार्ने भन्ने तनाव उनलाई थियो भने दोस्रो आफूले थालेको निःशुल्क शिक्षा अभियानमा विद्यार्थीहरूलाई शिक्षित बनाउन स्कुल सम्म कसरी ल्याउने भन्ने अर्को चुनौतीपूर्ण काम उनमा थपिएको थियो । संघर्ष पछिको सफलता यादगार हुन्छ भनेझैँ उनले निःशुल्क शिक्षा दिने आफ्नो अठोटलाई बिचैमा तुहिन दिएनन् अनेकौँ उल्झन र समस्याको सामना गरेर उनले आफ्नो बाचा पूरा गरेरै छाडे । उनले निःशुल्क शिक्षण पेसा मात्र सुरु गरेनन् । विद्यालय आउने गरिब, अति विपन्न र असहाय विद्यार्थीलाई आफैँले कापी, कलम, विभिन्न शैक्षिक सामाग्री किनिदिने, साना बालबालिकालाई स्कुलमा आफ्नै हातले खाजा खुवाइदिने समेत उनले गर्न थाले ।

आफ्नो समुदायको अभिभावकहरूलाई सम्झाई बुझाई गरेर निकै प्रयास पश्चात् उनले सुरुमा ४५० विद्यार्थीलाई पढाउन सफल भए। विद्यार्थीको चाप बढेपनी सबैलाई समेट्न सम्भव नभएकोले अहिले भने उनले गरिब,दलित,असहाय,विपन्न १५० जना विद्यार्थीहरूलाई मात्रै पढाउने गरेका छन् । कक्षा १ देखि ८ सम्म पढाउँदै आएका उनले विगत देखि अहिलेसम्म आइपुग्दा करिब दसौँ हजार भन्दा बढी विद्यार्थीलाई शिक्षा प्रदान गरिसकेका छन् । यसबिचमा रोचक कुरा त के छ भने शैक्षिक यात्राको यति लामो अन्तरालमा उनले सुरुमा जुन विद्यार्थीलाई पढाएका थिए अहिले तिनै विद्यार्थीका छोराछोरीलाई पनि पढाउँदै आइरहेका छन् ।

तराईमा छोरीलाई बिहेमा धेरै दाइजो दिने प्रचलन पहिले पनि थियो र अहिले पनि यो प्रथाले जरा गाडेर बसेको छ । जब शाहले निःशुल्क शिक्षा दिने अभियान सुरु गरे त्यति बेला त झन् उनको समाजमा छोरीहरूलाई पढाउन हुँदैन, शिक्षित बनाउन हुँदैन,घाँस दाउरा गर्न लगाउनुपर्छ, बिहे गरेर अर्काको घर जाने जात हो भनेर शिक्षा बाट वञ्चित गराउने चलन व्याप्त थियो । छोरीहरूलाई स्कुल पठाउनै हुन्न भन्ने मान्यता अभिभावकहरूमा थियो । आफ्नो समाजमा भएको यस्तो कुप्रथालाई जरैदेखि निर्मूल पार्नका लागि शाहले छोरीहरूलाई दाइजो हैन शिक्षा दिनुपर्छ। शिक्षा भन्दा ठुलो सम्पत्ति दाइजो हैन भनेर अभिभावकहरूलाई सम्झाएर छोरीहरूलाई स्कुल सम्म लगेर शिक्षा दिन सफल भएको र शिक्षाले नै यस्ता सबै रूढिवादी प्रथालाई तोड्न सकिन्छ भन्ने प्रण गरेर चुनौतीका साथ शिक्षण पेसा सुरु गरेको र त्यसपछि भने कछुवाको गतिमा नै किन नहोस् समाज परिवर्तन हुँदै गएकोमा आफू अहिले निकै खुसी भएको उनी सुनाउँछन् ।

रौतहट जिल्ला शिक्षाका हिसाबले निकै पछाडि परेकोले आफूले आफ्नो समाज र देशका लागि केही गर्नुपर्छ भन्ने सोचेर निःशुल्क शिक्षाको थालनी गरेको उनी बताउँछन् ।
विकृति विसङ्गतिका बाबजुद सुरुमा थुप्रै चुनौती,सङ्घर्षको सामना गर्नुपरे पनि अहिले शिक्षण पेसा बाट उनी निकै खुसी देखिन्छन् ।

चरम गरिबीले गाँजेको उनको समुदायमा शिक्षाले गरिबी मेटाउँछ, आफ्ना सन्तानले शिक्षा हासिल गरे भने आर्थिक, सामाजिक रूपमा सबल र सफल हुन्छन् भन्ने थाहा नै थिएन त्यति बेला अभिभावकहरूलाई ।

तर जब उनले निःशुल्क शैक्षिक अभियान सुरु गरे तब बिस्तारै अहिले समाज परिवर्तन हुँदै जान थालेको छ, पढ्नुपर्छ र आफ्ना सन्तानलाई पठाउनुपर्छ भन्ने चेतना बढ्न थालेको छ । समाज यसरी परिवर्तन हुँदै गएकोमा शाह आफूले आफूलाई निकै गौरवान्वित ठान्छन् ।

पछिल्लो समय उनको यस्तो योगदान देखेर, सुनेर उनको बारेमा चर्चा परिचर्चा सुरु हुन थालेको छ । कतिपय ठाउँमा त उनले शिक्षा क्षेत्रमा गरेको यस्तो योगदान स्वरूप सम्मान पनि पाइसकेका छन् । सञ्चारमाध्यमहरूले खोजाखोजी उनले बारेमा लेख्न थालेका छन् । आफूले पाएको यस्तो चर्चा र सम्मानको उनी वर्णन गरेर कहिले थाक्दैनन् ।

हेर्दा निकै सरल,सोझो,इमानदार र समझदार देखिने उनी सादा जीवन उच्च विचार भएको जिन्दगी जिउन मन पराउँछन् । पैसा कमाए पनि मानिसले जीवनभर जोगाउने भनेको मान, सम्मान, इज्जत, अनुशासन हो । हामी खाली हात आयौँ खाली हात नै जाने हो । मानिसलाई नामले नै अमर हुने भावना राख्ने उनले अझै पनि शिक्षा लिन बाट वञ्चित भएका गरिब, विपन्न,असहाय बालबालिकाहरूलाई सहयोग गर्न आफूले सञ्चालन गरेको निःशुल्क शैक्षिक अभियानमा जोडिन देश भरिका सबै शिक्षकहरूलाई आग्रह गरेका छन् ।

शिक्षा क्षेत्रमा सुधारको खाँचो रहेको र शिक्षा क्षेत्रमा भएका विकृतिलाई सुधार्न सके शिक्षाले देशमा ठुलो क्रान्ति ल्याउने छ भन्ने उनको आशा छ । शिक्षा देशको मेरुदण्ड हो । शिक्षा जस्तो पवित्र पेसामा जोडिन पाउँदा उनले आफूलाई गौरवान्वित ठानेका छन् ।

स्थानीय,प्रदेश, केन्द्रीय सरकार, विभिन्न सञ्चारमाध्यमहरू मिलेर शाहले सुरु गरे झैँ निःशुल्क शिक्षा अभियान जोडिएर सबैलाई समान रूपमा शिक्षा दिलाउन सके देशको अवश्य मुहार फेरिने छ र शिक्षित समाज र राष्ट्रको निर्माणमा टेवा पुग्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *