
फाल्गुन ११ गते , विरगंज । वीरगञ्जमा शुक्रबारदेखि हुने रात्रीकालिन खाना तथा सांस्कृतिक मेलाको तयारी पूरा भएको छ ।
वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजन तथा वीरगञ्ज कलेजको आयोजनामा हुन लागेको मेलाको तयारी पूरा भएको हो ।
मेलामा २५ वटा विभिन्न खानाका परिकारको स्टल रहने वीरगञ्ज कलेजका अध्यक्ष डाक्टर दीपेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो । शुक्रबार दिउँसो ३ बजे रात्रीकालिन खाना तथा सांस्कृतिक मेलाको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले उदघाटन गर्नुहुने भएको छ ।
कलेजका विद्यार्थीहरुलाई सिक्दै जाऔं र कमाउँदै जाऔं भन्ने अवराधरणाका साथ व्यापार व्यावसाय गर्ने र कमाउने तरिकाको साथै स्थानीय मौलिक खानाको प्रबर्द्धन मेलाको मुख्य उद्देश्य रहेको अध्यक्ष डाक्टर चौधरीले बताए ।
मेलामा कलेजका विद्यार्थीहरु आफैले खानाका परिकार बनाउने र विक्री गर्ने र बिक्रीबाट आएको रकम विद्यार्थीहरुले राख्ने भएकोले विद्यार्थीहरुलाई प्रोत्साहन गर्नका लागि अभिभावक, शिक्षक, कलेज लगायत समाजका सबै क्षेत्रको भूमिका मूख्य रहने उनले बताए ।
शुक्रबार उदघाटन हुने रात्रीकालिन खाना तथा सांस्कृतिक मेला राति १० बजेसम्म लाग्ने र शनिबार पनि साँझदेखि राति १० बजेसम्म रहनेछ ।