
७ साउन, वीरगञ्ज । पर्साको वीरगञ्ज नगरपालिकाबाट प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित एक जना युवक र एउटा कार नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगर १६ रजतजयन्ती चोकस्थित सडकबाट वडानम्बर १० का ३१ वर्षीय अनिल कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ पौने ९ बजेको समयमा बीआर०वाई८२०१ नम्बरको कारसहित अनिललाई नियन्त्रणमा लिएको हो ।
चेकजाँचका क्रममा उक्त कारको सिटमुनि फल्स बटम बनाई कागजले बेरी राखेको अवस्थामा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ ।प्रहरीले कारबाट फेनारगन ८८६ एम्पुल, डाइजेपाम ११५५ एम्पुल र नुरफिन ९७८ एम्पुल गरी जम्मा ३०१९ एम्पुल तथा नाईट्राभेट १७८५ ट्याब्लेट बरामद गरेको जनाएको छ ।
पक्राउ परेका अनिललाई लागुऔषध कसुरमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।