
२९ जेठ, वीरगन्ज । हिन्दु धर्मका समर्थकहरुले वीरगञ्जमा भारतीय जनता पार्टी भाजपा का पूर्व प्रवक्ता नुपुर शर्मा र नेता नविन जिन्दलको समर्थनमा प्रदर्शन गरेका छन् ।
इश्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदका बारेमा नुपुर शर्मा र नेता नविन जिन्दलले नकारात्मक टिप्पणी गरेको भन्दै दुवै जनाको विरोधमा शुक्रबार वीरगन्जमै मुस्लिम समुदायले भारतीय महावाणिज्य दूतावास अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेकोमा आपत्ति जनाउँदै शनिवार हन्दु धर्मका अगुवाहरुले उनीहरुको समर्थनमा प्रदर्शन गरेका हुन् ।
हिन्दुत्वको रक्षाको लागि एक हौ भन्ने मुल नारा लेखिएको ब्यानर, पम्प्लेट बोकेर हिन्दुवादीहरुले नगर परिक्रमा गरेका थिए । समर्थन रयालीमा सहभागीहरुले हिन्दु हुनुमा हामीलाइ गर्व छ, भाजपा नेतृ नपुर शर्मालाइ हाम्रो समर्थन छ लगायतका नारा लगाएका थिए ।
भाजपा नेताहरुले हिन्दु धर्मको रक्षाका लागि अभिव्यक्ति दिएकाले उनिहरुको समर्थनमा रयाली निकालेर प्रदर्शन गरिएको हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले बताए ।
मुस्लिम धर्मका बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै नुपुर शर्मा र नविन जिन्दललाइ भाजपाले पार्टीबाट कारबाही गरिसकेको छ ।