८ बैशाख २०८१, शनिबार

यसरी सम्भव भयो रियल मड्रिडको अविश्वसनीय विजय

१५ जेठ, काठमाडौं । लिभरपुललाई पराजित गरी कीर्तिमान विस्तारसहित च्याम्पियन्स लिगको उपाधि जितेको स्पेनिस महारथी रियल मड्रिडको यो सफलता नाटकीय र अविश्वसनीय पुनरागमनबाट सम्भव भएको हो ।

पछिल्लो सेप्टेम्बरमा समूह चरणमै माल्दोभा सेरिफसँगको हार व्यहोर्दा रियलको विश्लेषण बलियो टोलीका रुपमा गरिएको थिएन । रियल मड्रिडले शनिबार राती पेरिसमा लिभरपुललाई १–० ले हराउँदै १४औंपल्ट युरोपियन च्याम्पियन बन्यो ।

फाइनलको अन्तिम सिठ्ठी बनेपछि प्रशिक्षक कार्लो एन्सेलोटीले मैदानमै पुगेर खेलाडीसँग खुसियाली साट्नुको दृश्य रोमान्चक थियो । रियलका लागि यो जितको अर्थ एन्सेलोटीजति अरुले बुझेका छैनन् ।

फ्रान्सेली फुटबल विशेषज्ञ जुलियन लरेन्सले बीबीसी रेडियोसँग भनेका छन्, ‘यो सिजन च्याम्पियन्स लिगका लागि रियल सबैभन्दा उत्कृष्ट टिम थिएन ।’

म्यानचेस्टर युनाइटेडका पूर्व डिफेण्डर रियो फर्डिनाण्डले यो सफलताका लागि रियलले उल्लेखनीय सुधार गरेको टिप्पणी गरेका छन् । ‘रियल मड्रिडले यो सफलता पाउने विश्वास गरिएको थिएन । तर, हरेक बाधा र अड्चनहरुमा उनीहरुले धैर्य र दृढ संकल्पका साथ विजय पाए,’ उनले भने ।

फाइनलमा पुग्नका लागि रियलले १२ खेलमध्ये चार पटक पराजयको सामना गर्नुपरेको थियो । यो तुलनात्मक रुपमा लिभरपुलको भन्दा धेरै हो । लिभरपुलले पेरिसमा च्याम्पियन्स लिग फाइनलको हारसहित यो सिजन खेलेका ६३ खेलमा चार खेलमात्र पराजय ब्यहोरेको छ ।

र, पनि कार्टो एन्सेलोटीको टिमले एक असाधारण अभियान पूरा गरी युरोपको सर्वोत्कृष्ठ क्लबको रुपमा आफूलाई कायम राखेको छ ।

प्रिक्वाटरफाइनल चरणमा पेरिस सेन्ट जर्मेइनसँग समग्रमा २–० ले पछि रहेको अवस्थामा दोस्रो हाफको अन्तिम १७ मिनेटमा तीन गोल गरी रियलले क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।

क्वाटरफाइनलमा चेल्सीसँग समग्रमा ४–३ ले पछि परेको स्थितिमा खेलको ८०औं मिनेठमा रोड्रिगोले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । करिम बेन्जेमाको गोलसँगै अतिरिक्त समयमा रियलले ५–४ गोलअन्तरको विजय पायो ।

र, उनीहरुले सेमिफाइनलमा यसअघिकै सबै पुनरागमन जितलाई बिर्साउने गरी अर्को विजय प्राप्त गरे । पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले रियललाई दोस्रो लेगको अन्तिम मिनेटसम्म समग्रमा ५–३ गोलले पछि राखेको थियो । तर, सब्स्टिच्युड ब्राजिलियन स्ट्राइकर रोड्रिगोले इन्जूरी समयमा २ गोल गरी खेललाई अतिरिक्त समयमा पु¥याए । अतिरिक्त समयको पाँचौं मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमार्फत विजयी गोल गरे । बेन्जेमाले इंग्लिस टोलीविरुद्ध च्याम्पियन्स लिगको यो सिजन ७ गोल गरेका छन् ।

फाइनलमा जर्गेन क्लोपको लिभरपुलमाथि पनि बलियो सुरुवात गर्नुपरेको थियो । मात्र दुई शट अन टार्गेटमात्र एक गोल गरेर रियलले उपाधि जित्न सक्यो । ‘मैले मेरो समयमा यति कठिन उपाधि यात्रा यसअघि कहिल्यै देखेको थिइनँ,’ फर्डिनाण्डले भनेका छन्, ‘उनीहरुले पीएसजीलाई हराए, उनीहरुले इंग्ल्याण्डको च्याम्पियन टिमलाई हराए ।’

रियल मड्रिड र लिभरपुलका पूर्व विंगर स्टिभ म्याकमानामानल भनेका छन्, ‘रियलले त्यही गर्छ जुन सधैं गर्दै आएको छ । जन उनीहरु फाइनलमा पुगे, उनीहरुले आफैंलाई जितेका थिए । यो उनीहरुको तरिका र शैलीकै कारण सबैभन्दा ठूलो सफलता मिलिरहेको छ ।’

फाइनलमा गोल गर्न नसके पनि युरोपेली उपाधिमा रियलबाट सबैभन्दा ठूलो श्रेय करिम बेन्जेमालाई जानुपर्छ । फ्रान्सका ३४ वर्षीय यी स्ट्राइकर सिजनभर एन्सेलोटीका मुख्य हतियार रहे । उनले च्याम्पियन्स लिगमा यो सिजन १५ गोल गरेका छन् । जसमा दुई ह्याट्रिक सामेल छ । उनी यो सिजनका सर्बाधिक गोलकर्तासमेत हुन् ।

के उनी विश्वकै उत्कृष्ट खेलाडीका रुपमा बालोन डी’ओरको स्वभाविक हकदार हुन् त ? फर्डिनाण्डले भनेका छन्, ‘बालोन डी’ओरका लागि अन्य तर्क अब समाप्त भएका छन् । यदि बेन्जेमाले यो अवार्ड पाउँदैनन् भने त्यो अवार्डकै अपमान हुनेछ ।’

प्रशिक्षकका रुपमा सबैभन्दा धेरैपल्ट च्याम्पियन्स लिग जित्ने इतिहास एन्सेलोटीका लागि बनेको छ । उनले यस सिजन चौथोपल्ट यो उपाधि जितेका हुन् । ‘म कीर्तिमानी मानिस भएको छु,’ फाइनल सकिएपछि यी इटलियन प्रशिक्षकले भने, ‘मेरो विचारमा हामी धेरै कठिन खेलहरुबाट गुज्रियौं ।’

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *